दुर्योधनको अहंकार र जनताको हस्तिनापुर

काठमाडौं । दुर्योधनको अभिमान हस्तिनापुरको विनाशका लागि पर्याप्त थियो । दुर्योधनको महत्वाकांक्षालार्ई मलजल गरेर हुर्काउने शकुनी र पुल्पुल्याउने धृतराष्ट्र विनाशको वृक्ष थिए, जहाँ दुर्योधन नामधारी विषको फल फलेको थियो । महाभारत कथाका चर्चित पात्र रहेका यी तीन चरित्र हजारौं वर्षपछि पनि समाजका लागि उदाहरण बनिरहेका छन्, सायद बनि रहनेछन् ।

नेपालको राजनीतिमा दुर्योधन प्रवृत्तिले शीर उठाउने प्रयास गरेको आभास हुन थालेको छ । संसद नेपाली जनताले निर्माण गरेको हस्तिनापुर हो । यसको अपमान र अवमूल्यन ती जनताको पनि अपमान हो । देशको मार्गचित्र निर्माण गर्ने थलो हो संसद । त्यो मार्गचित्रमा यात्रा तय गर्न नेतृत्व चुन्ने सर्वोच्च निकाय पनि हो संसद । संविधान निर्माण गर्ने, संशोधन गर्ने र परिष्कृत गर्दै देशकाल अनुकूल बनाएर अघि बढ्ने जीवन्त संस्था हो, संसद ।

यतिबेला यो संसद अपमानित भइरहेको छ । राज्य सञ्चालनको जिम्मेवारीमा रहेका अधिकारीहरु नै संसदको अपमान गरिरहेका छन् । संसदकै नेतृत्व समेत यसको मान जोगाउन असमर्थ देखिन थालेको छ । तटस्थता संसदको नेताको सबैभन्दा उच्च योग्यता मानिन्छ संसदीय परम्परा रहेका देशहरुमा । जस्तोसुकै परिस्थितिमा पनि सन्तुलन डगमगाउन नदिनु र तटस्थ भूमिका निर्वाह गरिरहनु नै संसदको मुख्य पदाधिकारी सभामुखको स्वधर्म हो । यता आएर सभामुख ती गुणहरुबाट विमुख भइरहेको भनेर प्रमुख प्रतिपक्षले आलोचना गर्न थालेको छ । संसदको स्वच्छता चाहने जोकसैका लागि पनि यो चासो र चिन्ताको विषय हो ।

अर्कोतिर, सरकारको उच्च ओहोदामा रहेको पदाधिकारी पनि संसदको वजन घटाउन कारण बनिरहेको देखिन्छ । के विषय संसदभित्र चर्चा गर्न मिल्ने हो, के विषय संसदको गरिमासँग मेल खाँदैन भनेर सामान्य संसदीय परम्परा र आचरणको समेत ख्याल नभएझैं गरी त्यस्ता सरकारी पदाधिकारीहरुले संसदको अपमान गरेका घटनाहरु दिनदिनै बढेर गएका छन् ।

संसदको नेता मानिन्छ प्रधानमन्त्रीलाई । संसदीय परम्परा, मान्यता, शिष्टता र आचरणको कसरी पालना गर्नुपर्छ भनेर मन्त्रीपरिषद्का सदस्यहरुलाई अवगत गराउनु र त्यसको परिपालन समेत गराउनु प्रधानमन्त्रीको पनि दायित्व हो । सरकारको नेतृत्वमा रहेपछि सदस्यहरुलाई अनुशासनमा राख्नु उसको कर्तव्य नै हुनआउँछ । तर आजभोलि प्रदर्शन भैरहेका व्यवहारले त्यस्तो देखाउँदैन । वर्तमान सरकारका सदस्यहरुमा त्यसकिसिमको आचरण संसदले अनुभव गर्न पाइरहेको देखिँदैन ।

प्रतिनिधि सभाका एकजना पूर्व सभामुखको अनुभवमा ‘वर्तमान संसदमा चरित्र दोषको असर देखिएको छ ।’ कसै न कसैको आलोचना नगरी संसदका विषयमा चर्चा सुरु गर्न सकिने परिस्थिति नरहेको भनेर आफ्नो नाम उल्लेख गर्न नरुचाउने ती पूर्व सभामुखले राजनीतिक नेतृत्वको आचरणकै कारण संसदले आफ्नो आस्था र गरिमा गुमाउँदै गएको टिप्पणी गरे ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१