‘विश्वविद्यालयहरुका अनावश्यक पद हटाइनु पर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले विश्वविद्यालयहरुमा कर्मचारी पदपूर्तिका लागि राजनीतिक चलखेल भइरहेको उल्लेख गर्दै अनावश्यक पदहरु हटाउनुपर्ने बताएकी छन् ।
सिंहदरबारमा बिहीबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमाविश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद कार्कीले विश्वविद्यालयमा पदपूर्तिका लागि राजनीतिक हस्तक्षेप भइरहेकाले अनावश्यक पदहरु हटाउन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘विश्वविद्यालयका कुलपतिलाई कार्यकारी प्रमुखको रुपमा नियुक्त गर्नेगरि विधेयक संशोधन गर्नुपर्दछ । केही साथीहरु उपकुलपति थप्ने भन्ने कुरा पनि गरिरहनुभएको छ । हामी घटाउने भन्नेतर्फ गइरहेका छौं । किनकि हामीले देखिरहेका छौं विश्वविद्यालयहरुमा कुलपति, उपकुलपति र अन्य पदमा नियुक्तिका लागि कति राजनीतिक हस्तक्षेप हुने गरेको छ ।’

विश्वविद्यालयमा कुनै पनि पद खालि राख्न नहुने समेत उनको भनाइ छ ।त्यस्तै, सांसद कार्कीले जति धेरै उपकुलपति भर्ना गयो त्यति नै आर्थिक भार बढ्ने भन्दै विश्वविद्यालयले त्यो थेग्न नसक्ने उल्लेख गरिन् ।
उनले भनिन्, ‘विश्वविद्यालयहरुको सुधार गर्नका लागि पदहरु बढाउनुको सट्टा भएका कर्मचारी र जनशक्तिबाट धेरैभन्दा धेरै काम हुनसक्ने गरेर गर्नुपर्छ । यसो हुन पनि यो संशोधन आवश्यक छ ।

विश्वविद्यालयमा रहेका हरेक अनावश्यक पदहरुलाई हटाउँ । भोलिको दिनमा त्यति जनशक्तिले पुगेनछ भने त हामीहरु नै बसेर समाधानको बाटो खोजौंला । जति धेरै उपकुलपति भर्ना ग¥यो त्यति नै सेवा सुविधाहरु बढाउनुपर्ने भएकाले आर्थिक भार पनि बढ्छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७