मोदीको ध्यान राजनीतिः कहिले उत्तरको केदारनाथ, अहिले दक्षिणको कन्याकुमारी

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन् । दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन् ।

नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए । उनी भोलि जुन १ त्यहीँ बस्नेछन् । लोकसभा निर्वाचनको सातौं र अन्तिम चरणको मतदान पनि भोलि हुँदैछ ।

धोती र सेतो शल ओढेका मोदीले मन्दिरमा पूजा गरे र ‘गर्भगृह’ परिक्रमा गरे । पुजारीहरूले एक विशेष आरती गरेर उनलाई मन्दिरको प्रसाद दिएका थिए ।

मोदी राज्य सरकारले सञ्चालन गरेको शिपिंग कर्पोरेसनको फेरीमा चढेर समुन्द्र तर्दै चट्टान स्मारक पुगेका थिए । ध्यान मण्डपम्मा ध्यान बस्नुअघि मोदी केहीबेर मण्डपममा जाने सिढीमा उभिएर चारैतिर फैलिएको समुद्रको मनोरम दृश्य अवलोकन गरेका थिए ।

प्रधानमन्त्री मोदीले रामकृष्ण परमहंस, माता शारदा देवीको तस्विरमा पुष्पवृष्टि गर्नुका साथै स्वामी विवेकानन्दलाई पुष्पहार अर्पण गरे । शिवगंगामा सम्वाददाताहरुसँग कुरा गर्दै तमिलनाडु बीजेपी अध्यक्ष के अन्नामलाईले मोदीको स्मारक भ्रमणलाई उनको निजी भ्रमण भएको बताए । ‘यो प्रधानमन्त्रीको व्यक्तिगत भ्रमण हो,’ उनले भने, ‘त्यसैले पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रममा सहभागी छैनन् ।

थन्थाई पेरियार द्रविडर कझगम लगायतका संगठनहरूले मदुरैमा मोदीको विरोध गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए । सोसल मिडिया प्लेटफर्म युएक्सयुले पनि अन्तिम चरणको मतदान सन्दर्भमा मोदी ध्यानमा बसेको समाचार प्रसारणको राजनीतिक विरोध भएको टिप्पणी गरेको छ ।

विवेकानन्द स्मारकमा मोदीको ४५ घण्टा ध्यानका लागि कडा सुरक्षालगायत सबै व्यवस्था मिलाइएको छ । सन् १८९२ को अन्त्यतिर समुन्द्र भित्रका चट्टानहरूमा ध्यान गरेका स्वामी विवेकानन्दको सम्झनामा निर्माण गरिएको स्मारकमा प्रधानमन्त्री पहिलो पटक पुगेका हुन् ।

२०१९ को लोकसभा निर्वाचन प्रचारप्रसारको अन्त्यपछि प्रधानमन्त्रीले केदारनाथ गुफामा ध्यान गरेका थिए । अहिले उनी देशको मुख्य भूमिको दक्षिणी किनारमा अवस्थित आध्यात्मिक केन्द्रमा ध्यान बसिरहेका छन् ।

भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार, सुरक्षाकर्मीहरूले स्मारक परिसरलाई घेरेको बेला, सम्पूर्ण कन्याकुमारी जिल्लामा सुरक्षा बढाइएको छ । त्यहाँ लगभग २ हजार प्रहरी तैनाथ गरिएका छन् । तमिलनाडु पुलिसको तटीय सुरक्षा समूह, तटरक्षक र नौसेनाले पनि मोदीको सुरक्षामाथि कडा निगरानी गरिरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१