बुढानिलकण्ठ केन्द्रविन्दु भएर आएको राजनीतिक भूकम्प

काठमाडौं । १६ जेठको बुधबार साँझ काठमाडौंको बुढानिलकण्ठ केन्द्रविन्दु भएर उठेको राजनीतिक भूकम्पले सत्तागठबन्धनलाई बेस्सरी नै हल्लाएको छ । त्यसको परकम्पले सत्ताका अन्तरकुन्तरमा कपालजत्रा रेशा कोरिएका छन् भने अनगिन्ती परकम्प आउनेक्रम रोकिएको छैन ।

प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा अवस्थित निजी निवासमा अरु प्रतिपक्षी दलका नेताहरुलाई परामर्शमा निमन्त्रण गरेका थिए । साथै निमन्त्रणा पाएका थिए सत्ता गठबन्धनका नेता पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि त्यहाँ सहभागी थिए । मधेशमा सरकार निर्माणबारे छलफल गर्ने उदेश्य थियो र एकिकृत समाजवादीका अध्यक्ष नेपालको उपस्थिति निकै महत्वपूर्ण थियो ।

जसै नेता नेपाल बुढानिलकण्ठ बैठक कक्षमा आसनग्रहण गरेको खबर महाराजगंज चक्रपथ हुँदै बालुवाटार पस्यो अनि हल्लियो गठबन्धनको जग र तिलमिलाए प्रधानमन्त्री पुष्पकमल दाहाल ।

भर्खरै चौथोपटक विश्वासको मत लिएका दाहाललाई तुरुन्तै पाँचौपटक विश्वासको मत लिनुपर्ने आपत् आईपर्ला भन्ने भयले छोप्नुछोप्यो भने त्यो अन्यथा पनि होइन । गृहमन्त्री रवि लामिछाने र गुप्तकार्यमा सक्रिय राज्यका तमाम सन्यन्त्र परिचालित भए, नेता नेपाल बुढानिलकण्ठबाट निस्किएर कोटेश्वर निवास प्रवेश नगरुन्जेल गृहप्रशासनले ढुक्कले श्वास पनि लिएन । अनि प्रधानमन्त्री दाहालले फोनवार्ता गरेर नेता नेपालको हालखबर सोधेपछि मात्र राजनीतिक कम्पन केही मत्थर भयो । तर यत्तिले मनको बाघको शिकार हुनसकेन, प्रधानमन्त्रीले समाजवादीकै नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सहारा लिनुपर्यो । खनालले आफ्नो पार्टीका अध्यक्ष नेपाल वर्तमान गठबन्धनको विकल्प सोच्ने अवस्थामा नपुगेको भनेर स्पष्टीकरण दिएपछि र आफैं भेटेर ग्रीन टि पिएपछि मात्र प्रधानमन्त्री दाहालको निधारको पसिना ओभाएको थियो ।

सत्ता गठबन्धनको पिँडुलामा कति पानी छ भन्ने कुरा बुढानिलकण्ठ बैठकको आयोजनले जनजनले थाहा पायो । प्रधानमन्त्रीले स्पष्टीकरण नै दिँदै हिँड्नुपर्यो । राजनीतिमा उठेको यो तरंग चियाको कपमा उठेको जस्तो गफको बिषय मात्र थिएन । यसले भूकम्पले पृथ्वी हल्लाएपछि सतहमुुनि बस्ने प्राणीहरु सतहमा निस्किएर आत्तिँदै दौडधुप गरेझैं गठबन्धनका नेतागणहरुलाई दौडायो ।

यतिसम्मक कि विराटनगर पुगेका प्रधानमन्त्री दाहालले विमानस्थलमा सदाझैं उपस्थित सम्वाददाताहरुसँग स्पष्टीकरण नै दिनुपर्यो । उनले नेत नेपालले आफूलाई वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने स्पष्ट गरेको भनेर प्रष्ट्याएका थिए ।

प्रधानमन्त्रीले भनेका थिए, ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँगपनि जोडिने जस्तो देखिएको थियो, आज बिहान (बिहीबार) मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ ।’

अझै स्पष्टीकरण

प्रधानमन्त्री दाहालले आज पनि बुढानिलकण्ठ बैठककै बारेमा पार्टी नेता र कार्यकर्ताहरुलाई आश्वस्त पार्नुपरेको छ । उनले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउँदै सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा दाहालले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न निर्देशन नै दिए ।

वर्तमान सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्रीको भनाई थियो, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।’

आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै प्रधानमन्त्री दाहालले दलका नेताहरुबीच भेटघाट हुँदैमा राजनीतिमा कुनै फरक नपर्ने भनेर आश्वस्त रहन सुझाएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१