मनसुनको पूर्वतयारी प्रभावकारी बनाउन ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन् ।नेकपा एमालेका सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधि सभा बैठकमा मनसुनको समयमा बाढि पहिरो र डुबानबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार र सरोकारवाला निकायलाई प्रभावकारी कार्ययोजनासहित अहिलेबाटै पूर्ण तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए ।

सांसद पन्तले भने, ‘बाढी, पहिरोबाट धेरै मानिस प्रभावित हुने भनेर राष्ट्रिय विपत्त प्राधिकरणले भनिरहेको छ । तर, जोखिमलाई कम गर्न पूर्वतयारी के छ ? बाढी पहिरो र डुबानबाट बच्नको लागि राम्रो तयारी अहिलेदेखि गर्नुपर्यो र त्यसको बारेमा प्रदेश सरकार र सम्बन्धीत निकायलाई कसरी योजना र प्रक्रियामा सामेल गराउने हो सरकारले त्यता ध्यान दिनुपर्यो ।’

यस्तै, सोलुखुम्बुका सांसद मानवीर राईले पनि सरकारले मनसुनको पूर्व तयारीको लागि गरेका कार्यबारे चासो दिएका छन् । सोलुखुम्बु जिल्ला बाढी र हिम पहिरोको जोखिममा रहेको स्मरण गराउँदै उनले विपदजन्य प्राकृतिक प्रकोपको पूर्वतयारी गर्दा सोलुखुम्बु जिल्लालाई समेत प्राथमिकता दिन आग्रह गरे ।
‘मनसुन सुरु हुन लागेको छ । सोलुखुम्बु जिल्ला बाढी पहिरो र हिम पहिरोको जोखिममा परेको हुनाले मनसुनमा हुनसक्ने क्षतिबारे तयारीका लागि सरकारलाई आग्रह गर्दछु ।’

उनले सोलुको थुलुङ दूधकोशी र नेचासल्याण गाउँपालिकामा एक महिना अगाडि आगलागीमा परेका १४ घर परिवारका लागि बासस्थानको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।‘थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्याण गाउँपालिकामा एक महिना अगाडि १४ घर जलेर नष्ट भएका छन् । उहाँहरुको घरबासको व्यवस्थाको लागि सरकारसँग माग गर्न चाहान्छु,’ उनले भने ।

यस वर्षको मनसुन जेठ ३१ गतेबाट असोजको १८ सम्म आउने अनुमान मौसम विभागले गरेको छ । यो अवधीभर अत्याधिक वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ४ लाख १२ हजार घरपरिवारका १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्य सबैभन्दा धेरै प्रभावित हुने कोशी प्रदेश हुने र मनसुनको कम प्रभाव कर्णाली प्रदेशमा पर्ने अनुमान सरकारको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१