‘सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा लगानी गर्नुपर्छ’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् ।

एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घान गर्दै उनले सरकारले अब पुँजी र प्रविधिको बाटो लिनुपर्ने बताए ।

‘हामीले उत्पादन र रोजगारीका क्षेत्र विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा हामी आफैंले पनि पुँजी र प्रविधिको बाटो दिनुपर्छ । हाम्रो पुँजी र प्रविधिले पुगेन भने बाहिरबाट आकर्षित गर्ने त्यो बाटोमा जानुपर्दछ । मुख्य कुरा आफैंले पुँजीको सिर्जना गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा सरकारसँग मेरो कुराकानी भइरहेको छ,’ उनले भने ।

वर्तमान बजेट र यसको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा सरकारसँग आफू संवादमा रहेको भनाइ अध्यक्ष ओलीले राखे ।

वर्तमान बजेट, यसमा सच्याउनुपर्ने विषय र बजेटको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर छलफल गरिरहेको उनले बताए । एमाले वर्तमान सत्ता गठबन्धनमा छ । उनले केही अघि अर्थमन्त्री वर्षमान पुनले ल्याएको आगामी वर्षको बजेटका विषयमा आलोचनात्मक टिप्पणी गरेका थिए । पार्टी कार्यकर्तामाझ भने उनले असहमति प्रकट गरेनन् ।

उनले भने, ‘वर्तमान बजेटको सन्दर्भमा, त्यसको प्रभावकारी कार्यान्वयनको सन्दर्भमा, त्यसलाई अगाडि बढाउन के के कुराहरु सच्याउनुपर्छ । यी विषयमा म सरकारसँग निरन्तर कुराकानी गरिरहेको छु ।’

कृषिमा आधारित उद्योग र प्रविधिको क्षेत्रले मुलुकको औद्योगिकरणको निर्धारण गर्ने भन्दै उनले यसमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

‘अब हामीले कृषिमा आधारित उद्योग र अन्य उद्योगका लागि र उत्पादनमा प्रविधिको प्रयोग लगायतका काममा जति काम गर्न सकिन्छ त्यसले हाम्रो मुलुकको औद्योगिकीकरणको निर्धारण गर्नेछ,’ उनले भने ।

कच्चा पदार्थको आयात सहज नभइसकेको सन्दर्भमा त्यतापट्टि सरकारको पर्याप्त ध्यान जान नसकेको उनले बताए । तयारी वस्तुलाई निर्यातलाई प्रोत्साहित गर्नुपर्ने भनाइ उनले राखे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१