भैंसीको शरीरमा झिँगाको लात्ती

काठमाडौं । महात्मा विदुरले हजार पल्ट सम्झाए पनि धृतराष्ट्रले कहिल्यै सुनेनन् । कटुसत्य बोल्थे विदुर आफ्ना महाराजको अदूरदर्शी कदम र विचार रोक्न । विनाशकारी थिए राजाका विचार र पुत्रमोह वन्धन । राजाका हरेक कदम विनाश निम्त्याउन कारक थिए, त्यसर्थ विदुर खप्की खाँदै क्षमायाचना गर्दै नेत्रहीन राजाको विवेक सक्रिय गराउन हरप्रयत्न गरिरहन्थे ।

बदलाको विषको घैला बोकेर हस्तिनापुर प्रवेश गरेका गान्धार नरेश शकुनी भाञ्जा दुर्योधनको महत्वाकांक्षामा मलजल गर्न किञ्चित पनि विलम्व गर्दैनथिए । दिदी गान्धारीलाई नेत्रहीन राजाकी पत्नी बनाउन मुख्य भूमिका खेलेका भीष्मको प्रतिज्ञासँग परिचित शकुनी कौरब र पाण्डवका कमीकमजोरीहरु बारे मनग्य जानकार थिए ।

शकुनीको कुटिल चाल भलिभाँती अवगत भएका विदुर महाविपत्ती बोकेर हस्तिनापुरतिर बढिरहेको भविष्य देखिरहेका थिए । त्यसैले कसैगरेर राजालाई त्यसको सहयोगी नबन्न उनी हरतरहले रोक्ने प्रयाश गरिरहन्थे । उनीसँग यसमा सहयोगी हुन कोही पनि साथमा थिएन । महाज्ञानी भविष्यद्रष्टा भीष्मपितामह जानीजानी स्वयं विनाशकै पक्षमा थिए । उनी अहंकारी दुर्योधनको महारथी हुन आफ्नै वचनवध्दताले विवश थिए, असत्यको पक्षमा उभिन । विदुर सही छन् भन्ने जान्दाजान्दै पनि भीष्मपितामह दोबाटोमा उभिन विवश थिए ।

विदुर महाराज धृतराष्ट्रको मुख थुन्न त सक्दैथिए । बरु परित्याग गर्न सक्थे दरबार, गरे पनि । यो उनको कठोर निर्णय थियो । विदुर हस्तिनापुर दरबारबाट सदाका लागि विदा भएको विष्मयकारी खबर कानमा परेपछि गंगापुत्र भीष्मले सिंहाशनमै बसेका राजा धृतराष्ट्र झपारेर सातो टिपे ।

निरुपाय धृतराष्ट्र आफ्ना काकाबाउको खप्की खाएपछि दरबार त्यागेर वनबासमा रहेका पाण्डुपुत्रहरुकहाँ पुगेका विदुरलाई फर्काउन तयार भए । हस्तिनापुर नरेश धृतराष्ट्रले कसैले दिएको सुझाव स्वीकार गरेको यो एकमात्र घटना थियो । जो उनकै लागि अनिवार्य थियो, विकल्पहीन थिए उनी । विदुर उनका महामन्त्री मात्र थिएनन्, आउने जाने श्वास पनि थिए । विदुर हस्तिनापुर दरबारका मेरुदण्ड नै थिए । जसले तमाम संकट सहजै पार लगाएका थिए, केवल धर्मक्षेत्र कुरुक्षेत्रको रक्तरञ्जित युध्दबाहेक ।

हजारौं वर्ष पुरानो महाभारत कथा समाजशास्त्र मानिन्छ । राजनीतका कुटिल षड्यन्त्र र चालबाजीहरुको प्रेरणा स्रोत पनि महाभारत नै ठानिन्छ । वर्तमान राजनीतिमा पनि शकुनी गुण भएका मानिसहरु नै सफल भएका छन् । चौसठमा बसेका धृतराष्ट्र र उनका भाईबन्धुहरु पराजीत भैरहेका छन् । सत्ताको हस्तिनापुर सिंहाशनमा विराजमान हुन असमर्थ पाण्डुपुत्रहरु वनबासमै रुमल्लिरहेका देखिन्छन् । शकुनीकै चलखेल छ राजनीतिमा ।

मर्यादा राजनीतिको आभूषण मानिन्छ । जनमतले जुन स्थान दिएको छ त्यस स्थानमा मर्यादापूर्वक बसेर स्वधर्म निर्वाह गर्नु राजनीतिको स्वभाविक कर्म हो भनिएको छ । छुद्र टिप्पणी, मर्यादाहीन वहस र निन्दा आलोचना राजनीतिका आवश्यक तत्वहरु होइनन् । आज यसैलाई रुचाईएको देखिन्छ । सरकारको नेतृत्व गरिसकेका कतिपय नेताहरु मर्यादाको उतिसारो ख्याल गरिरहेका छैनन् । गाउँको अगुवा मानिएका व्यक्तिहरु नै बाटामा जथाभावी शौच गर्दै हिँड्छन् भने उनका पछिपछि हिँड्ने मानिस उसैगरी पदचाप पछ्याउन थाल्दछन् । यसले सिँगो समाजलाई नै छाडा बनाउनसक्छ । छाडा समाज थेत्तर हुन्छ । जहाँ थेत्तर चरीत्र भएका मानिसहरुको आवादी बढी हुन्छ त्यो समाज मानिसहरु बसेको समाज मानिँदैन ।

हाम्रो देशका नेताहरुमा यस्तो सम्वेदनशीलता पाउन सकिँदैन । के बोल्न हुन्छ के बोल्न हुँदैन भन्ने मान्यता र विभेद उनीहरुको चेतनाको परिधिभन्दा निकै पर रहेको आभास हुन्छ । त्यस्तो थेत्तरो स्वभाव र प्रवृत्ति भएका नेताहरुलाई सचेत गराउन वौध्दिक वर्ग, सञ्चारमाध्यम र महाभारतका विदुर जस्ता शुभचिन्तकले प्रत्यक्ष परोक्ष रुपमा सुझाउ सल्लाह दिँदा उनीहरु भड्किने गरेका छन् । उल्टै सार्वजनिक सभाहरुमा शुभचिन्तकहरु कटाक्षको सिकार भैरहेका छन् ।

संसद नै हेरौं, संसद किन संसद जस्तो भैरहेको छैन त ? संसदमा पनि कुनै अदृश्य शक्ति अवतरण गरेर नेतृत्व गर्ने त होइन नि । राजनीतिक दलहरु नै संसदका अंग हुन् । उनैले चुनेको नेता संसदको मुखिया बन्छ र दलीय सीमामाथि उठेर संसद सञ्चालन गर्छ भन्ने मान्यता रहीआएको छ । तर जुनसुकै दलहरु सत्ता प्रतिपक्ष र अन्य भूमिका हेरफेर भएपनि संसदले मर्यादाको आभूषण पहिरन पाएको देखिँदैन ।

यहाँ पनि विदुर निरीह देखिन्छन् । जो जसले विदुरको भूमिका निर्वाह गरेका छन् उनीहरु हस्तिनापुरबाट अपमानित भएर निस्किएका छन् । नेपालको राजनीतिमा यही नियति दोहोरिँदै आएको छ । सत्ताको नेतृत्वमा पुगेका कृष्ण प्रसाद भट्टराई हुन् कि मनमोहन अधिकारी हुन् । नेपाली कांग्रेस र एमालेले दुवै नेताको मानमर्दन गरेका छन् । राजनीतिमा अत्यन्त नकारात्मक उदाहरण देशका मुख्य दुई दलहरुले नै स्थापित गरेका हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन साह र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बीच हालै चलेको वाकयुध्द अमर्यादाको ताजा उदाहरण हो । ओलीलाई चर्चित अनियमितताको घटनासँग जोडेर आलोचना गर्ने अवसर महानगर प्रमुख साहले पाएका छन् । यसको सोझो जवाफ वा खण्डन गर्ने नैतिक साहस ओलीसँग देखिएन । जनताले दिएको दुर्लभ शक्तिको अपचलन गरेर ओलीले देशकै शीर झुक्नेगरी भएको अनियमिततामा आफूलाई प्रत्यक्ष सहभागी गराएको तथ्यहरु एकपछि एक प्रकाशमा आई नै रहेका छन् । यही कारण हो महानगर प्रमुखले एकजना पूर्वप्रधानमन्त्रीलाई सार्वजनिक रुपमा ललकार्न सकेका । तर ओलीको चलनचल्तीको उखाने जवाफमा भने कुनै तागत देखिएन । राजनीतिको मर्यादा कति तल खसिसकेको छ भनेर नाप्ने यो अर्को उदाहरण हो ।

आफूलाई नै अन्तिम सत्य मान्ने र अरुका तीता सत्यहरु सुन्न पनि नचाहने धृतराष्ट्र चरीत्रबाट प्रेरित संघीय लोकतान्त्रिक गणतन्त्रका नेताहरु पुत्र मोह, धन मोह र शक्तिमोहबाट ग्रसित छन् । चर्मचक्षु सबल भएपनि धृतराष्ट्र झैं नेत्रहीन बनेका नेताहरु देशलाई हस्तिनापुरको गतिमा पुर्याउन प्रतिष्पर्धा गरिरहेका छन् ।

अभिमानी दुर्योधन र दुस्सासन अनि कुटिल मामा शकुनीको साथमा रहेका अंगराज कर्ण सक्रिय रहेसम्म यहाँ विदुर र सञ्जयको कुनै अर्थ छैन । यस्तो अवस्थामा के नेपाल देशले कुनै वासुदेव कृष्णको अवतरणको प्रतिक्षा गरिरहने हो कि ?

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७