काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले औद्योगिक करिडोर क्षेत्रमा प्राधिकरणले गरेको लोडसेडिङको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद पराजुलीले सरकारले आफ्नै देशमा उत्पादन बढी भएर अब कहाँ बेच्ने होला भन्नेसम्मको अवस्थामा पुगेको “विद्युत उत्पादन”, आफ्नै देशका औद्योगिक करिडोर क्षेत्रमा निर्बाध र गुणस्तरीय विद्युत आपूर्ति गर्न के ले रोकी रहेको छ ? भन्दै प्रश्न गरेका छन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत जेठ मसान्तसम्मको डाटा अनुसार व्यापार घाटा रु १३ खर्ब १४ अर्ब ४४ करोड रहेको छ । जुन निर्यातको तुलनामा १०.४४ गुणा बेसी हो । यो कहाली लाग्दो व्यापार घाटा विगतदेखिको निरन्तरता हो र व्यापारघाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापनको लागि आन्तरिक उत्पादन बढाउँदै निर्यात बढाउन बाहेक अरु कुनै विकल्प नभएको उनले बताए ।
देशभित्र स्थापित उद्योग र औद्योगिक करिडोर क्षेत्रले नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ, सिस्टम फेल, लाइन ट्रिप जस्ता समस्याका कारण विद्युत आपूर्तिमा समस्या र उत्पादनमा निकै ठूलो कठिनाई झेल्नु परेको उनले बताए ।
उनले भने, ‘व्यापारघाटा कम गर्न र आन्तरिक उत्पादन बढाउन उद्योग र कच्चा पदार्थमा एक तह भन्सार दर कम गर्ने नीति बजेटबाट घोषणा त सरकारले गरेको छ । तर देशका औद्योगिक करिडोर र उद्योग क्षेत्रहरुमा विद्युत आपूर्तिको अवस्था निकै दुर्दशापूर्ण रहेको कुरा अवगतनै छ।’
उनले औद्योगिक करिडोर र उद्योग क्षेत्रहरुमा निर्बाध बिजÞूली उपलब्ध गराई दिर्घकालीन व्यवस्थापन गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई आग्रह गरेका छन् । ऊर्जा मन्त्रीलाई व्यवस्थापन सम्पन्न गरी सम्मानीत सदनमा उपस्थित भई यथासिघ्र जानकारी गराउनु पनि आग्रह गरेका छन् ।