
काठमाडाैं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।
तीमध्ये १४ शवको सनाखत भएको प्रहरीले जनाएकाे छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ । बाँकीको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।
बिहीबार भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतका सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ।
यसैगरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ।
गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए।
दुवै बसमा गरी ६५ यात्रु रहेको थिए । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए ।