• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

मिर्गौला पीडित अनुषालाई दुई लाख ५० हजार सहयोग

काठमाडौं । दुवै मिर्गौला फेल भई काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचाररत अनुषा अधिकारीको उपचारमा अधिकारी बन्धु समाजले सहयोग गरेको छ ।

उनको सहयोगार्थ आइतबार कुइभीर अधिकारी बन्धु समाजले आर्थिक सहयोग गरेको हो ।ओखलढुङ्गाको साबिक कुइभीरमा बस्दै आएका कुइभीर अधिकारी बन्धु समाजले अधिकारीको उपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

समाजका अध्यक्ष शम्भु अधिकारीका अनुसार इटहरीस्थित राष्ट्रिय जनसहयोग कलेजमा स्नातकोत्तर अध्ययन गर्दै आएकी अधिकारीको दुवै मिर्गौला फेल भएपछि तीन महिना अघिदेखि टिचिङ हस्पिटल काठमाडौँमा उपचाररत रहेकी छन् ।

उपचार गर्न आर्थिक अभाव भएर समस्या भएपछि समाजले आर्थिक सहयोग गरेको बताइएको छ । आर्थिक सहयोग बापतको रकम मिर्गौला पीडित अधिकारीका बुबा लीलाराज अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

सो क्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष शान्तिबहादुर अधिकारीले प्रतिष्ठानको केन्द्रीय समितिबाट समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पीडित अनुषाको मिर्गौला फेर्नका लागि २५ लाख बढी रकम खर्च हुने जनाइएको छ ।