• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

पालिका अध्यक्षले एकल महिलाका लागि बनाइदिए घर

काठमाडौं । मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आवासविहीन एकल महिलालाई घर बनाइदिएका छन् ।उनले गाउँपालिकाबाट प्राप्त पारिश्रमिक तथा सेवा सुविधा वापतको रकमबाट मनहरी–५, बसन्तपुरकी सोनी राईलाई पक्की घर बनाइदिएका हुन् ।

उक्त निर्माण सम्पन्न घर मंगलबार गाउँपालिका अध्यक्ष कालाखेतीले राईलाई हस्तान्तरण गरेका छन् ।
लामो समयदेखि राई मनहरी–५ बसन्तपुरमा आवासविहीन अवस्थामा रहँदै आइरहेकी थिइन् । राईको परिवारमा उनीबाहेक कोही नरहेको बताउँछिन् । करिब आठ वर्ष अगाडि श्रीमान नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएको उनले बताइन् ।

निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिवद्धता अनुसार कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकमको कोष बनाएर जम्मा गर्दै आएका छन् । आगामी दिनमा पनि समस्यामा परेका पालिकाबासीको सेवामा उक्त कोषबाट रकम खर्चिने प्रतिवद्धता उनले गरेका छन् ।उक्त कोषबाट राईको घर निर्माण गर्न २ लाख १५ हजार रुपैयाँ खर्च लागेको अध्यक्ष कालाखेतीले बताए ।