• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सुरक्षित कारोबार ऐन संशोधन विधेयकमाथि दफावार छलफल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।

आइतबार संशोधनकर्तासँग भएको यस छलफललाई दुई दिनभित्र प्रतिवेदन तयार गर्ने निर्देशन दिइएको छ । समितिको बैठकमा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत, वर्षमान पुन, नेपाली कांग्रेसका सांसद विनोद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ, नेकपा एमालेकी सांसद जुली कुमारी महतो (महासेठ) लगायत गरी १५ जना सांसद सहभागी भएका थिए ।

बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि विस्तृत छलफल गर्दै यसलाई अन्तिम रूप दिने कार्यमा छलफल गरियो ।अर्थ समिति सभापति सन्तोष चालिसेले यसबारे जानकारी दिँदै भने,‘विधेयकमाथि संशोधनकर्तासँग छलफल भइसकेको छ । प्रतिवेदन तयार गर्न दुई दिनको समय दिइएको छ । प्रतिवेदन तयार भएपछि यो विधेयक पारित हुनेछ ।’सभापति चालिसेले सुरक्षित कारोबार ऐन संशोधन विधेयकको प्रभावकारी कार्यान्वयनले आर्थिक गतिविधि सुरक्षित बनाउने विश्वास व्यक्त गरेका छन ।