• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रधानमन्त्रीको कुर्सीमा ओली बसे पनि नीतिगत निर्णय कांग्रेसको छ : कृष्ण सिटौला

काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे पनि नीतिगत नेतृत्व भने नेपाली कांग्रेसले गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता रहेको बताए।

‘अहिले हामी संयुक्त सरकारमा छौं, ठूल–ठूला पार्टीहरु कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ,’ सिटौलाले भने, ‘प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ।’

नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए।

पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्‍याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।