• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

ट्रम्पको घोषणापछि भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य धमाधम घट्न थाल्यो

काठमाडौ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकामा आयात हुने औषधिमा थप भन्सार महसुल लगाउने घोषणा गरेका थिए । उनकाे यो घोषणापछि भारतीय सेयर बजारमा फर्मास्युटिकल कम्पनीहरूको सेयर मूल्य घटेका छन् ।

अमेरिकी बजार भारतीय औषधिका लागि सबैभन्दा ठूलो बजार हो। ट्रम्पले गत हप्ता विश्वभरका व्यापार साझेदारमाथि अतिरिक्त भन्सार महसुल लागू गर्ने घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए, तर अब उनकाे अडानमा परिवर्तन आएपछि औषधि कम्पनीहरूको सेयरमाथि दबाब परेको छ।

बायोकन, लौरस ल्याब्स र लुपिन जस्ता औषधि कम्पनीहरूको सेयर मूल्य ३ देखि ५ प्रतिशतसम्म घटेका छन्। अन्य प्रमुख कम्पनीहरू, जस्तै सन फर्मास्युटिकल इन्डस्ट्रीज, सिप्ला र डा रेड्डीज ल्याबोरेटरीजको सेयर १ देखि २ प्रतिशतसम्म घटेको छ।

ट्रम्पले औषधिमा कति र कहिले कर लगाउने भन्ने बारे अझै स्पष्ट पारेका छैनन्, तर चाँडै यसबारे घोषणा गर्ने बताएका छन्। बुधबार भारतीय फर्मा इन्डेक्समा सूचीकृत सबै २० वटै कम्पनीको सेयर रातोमा रहे। भारतको बेञ्चमार्क सेयर परिसूचक निफ्टी ५० शून्य दशमलव ५९ प्रतिशतले घटेको छ।