• २०८३ असार १५
  • 2026 June 29, Monday

नेपाल एयरलाइन्सले ऋण तिर्न ५३ करोड ९ लाख रुपैयाँ भुक्तानी

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋणको किस्ता भुक्तानी गरेको छ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये, दुई न्यारोबडी जहाजको २०८१ सालको चैत्र महिनाको किस्ता पूरै र दुई वाइडबडी जहाजको आंशिक गरी चैत्र ३१ गते कुल ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको निगमका प्रवक्ता सुवास डाँगीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रवक्ता डाँगीका अनुसार, हालको व्यवस्थापनले पदभार ग्रहण गरेपछि २०८१ सालको चैत्र मसान्तसम्म निगमले जम्मा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ ऋण किस्ता भुक्तानी गरिसकेको छ।

कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा परेको असरलाई ध्यानमा राख्दै, सो अवधिको व्याज, व्याजमाथिको व्याज, हर्जाना तथा पेनाल्टी छुट गरिनु पर्ने माग गर्दै निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई औपचारिक अनुरोध पत्रसमेत पठाएको जनाएको छ। यस सम्बन्धमा सम्बन्धित पक्षसँग छलफलसमेत भइरहेको निगमले जानकारी दिएको छ।