• २०८३ असार १५
  • 2026 June 29, Monday

सुनको मूल्य एक वर्षमा तोलामा ४७ हजार रुपैयाँले वृद्धि

काठमाडौ। एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, २०८० चैत ३० गते छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ थियो, जुन २०८१ चैत ३१ सम्ममा बढेर तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

स्रोतका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेकाले यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। यदि भन्सार दर नघटाइएको भए, सुनको मूल्य अझ बढी हुने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ। नेपाल सरकारको मन्त्रिपरिषद्ले २०८१ मंसिर ६ गते सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। यसअघि, चालु आर्थिक वर्षको बजेटमा भन्सार दर २० प्रतिशत राखिएको थियो।

व्यवसायीहरूले भन्सार दर उच्च भएको भन्दै सरकारमाथि दबाब बढाएका थिए, जसको परिणामस्वरूप मंसिर ९ मा राजपत्रमा सूचना प्रकाशित गरेर मंसिर १० देखि उक्त निर्णय लागू भएको थियो।महासंघका अनुसार, २०८१ चैत ३१ गतेको मूल्य हालसम्मकै उच्चतम रेकर्ड हो। साथै, सरोकारवाला व्यक्तिहरूले भविष्यमा सुनको मूल्य अझ बढ्न सक्ने अनुमान व्यक्त गरेका छन्।