
काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्र बैंकको १८ औं गभर्नरको प्रतिस्पर्धामा रहेका डा. भट्टले गभर्नर नियुक्ति बारे उच्च राजनीतिक नेतृत्वबाट सकारात्मक सङ्केत पाएपछि शुक्रबार कार्यकारी निर्देशकको पदबाट राजीनामा बुझाएका हुन्।
डा. भट्टले भने, “गभर्नरका लागि कार्यकारी निर्देशकको पदबाट राजीनामा दिनु पर्ने भएकाले मैले आज राजीनामा दिएको हुँ। अब अन्य प्रक्रिया हेर्नुपर्छ।”राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा कानुनी अन्यौलता रहेको देखिएपछि, भट्टले गभर्नरको पदमा नियुक्ति हुने पक्का भएको विश्वास गर्दै राजीनामा दिएका हुन्। मन्त्रिपरिषद्को आगामी बैठकले डा. भट्टलाई गभर्नरको पदमा नियुक्त गर्ने सम्भावना प्रबल रहेको छ।
गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली बीच गभर्नरको नियुक्ति बारे भागवण्डा टुंगिएको थियो। यस अनुसार गभर्नर कांग्रेसको भागमा पर्ने भएपछि डा. भट्टले राजीनामा दिएका हुन्। राष्ट्र बैंकमा अहिले दुई कार्यकारी निर्देशकले राजीनामा दिएका छन्, जसको स्वीकृति अझै प्राप्त भएको छैन। नयाँ गभर्नरको दौडमा रहेका डा. प्रकाश श्रेष्ठ र डा. गुणाकर भट्ट दुवैले राजीनामा दिएका छन्। यसमा डा. श्रेष्ठले पहिले नै राजीनामा दिएका थिए, तर दुवैको राजीनामा स्वीकृत भएको छैन।