
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट अब दैनिक १५ घण्टासम्म ६०० मेगावाट बिजुली आयात गर्न पाउने भएको छ। यसअघि प्राधिकरणले दैनिक १२ घण्टा मात्रै बिजुली आयात गर्दै आएको थियो।
भारत सरकारले ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत बिहान २ बजेदेखि साँझ ५ बजेसम्म कुल १५ घण्टा आयातको अनुमति दिएको हो। यसअघि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मको ‘सोलार आवर’ अवधिमा मात्रै आयात गर्न पाइन्थ्यो।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतले आगामी दुई महिनाका लागि दैनिक १५ घण्टा ६०० मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति दिएको जानकारी दिए। उनले बिहान २ बजेदेखि ६ बजेसम्मको अतिरिक्त समय पाएको उल्लेख गर्दै, यसले हिउँदमा विद्युत् आपूर्तिमा सहजता ल्याउने बताए।
प्रवक्ता राजाभाई सिल्पकारले भारतबाट सोलार घण्टामा निरन्तर आपूर्ति भइरहे पनि पिक आवरमा मागअनुसार पर्याप्त आपूर्ति नपाएको बताए। उनले भने, “अब पुरानै स्वीकृत अनुसार १२ घण्टा होइन, थप १५ घण्टा विद्युत् आपूर्ति हुने भएको छ।”भारतले यसअघि नै ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनमार्फत ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयातको अनुमति दिएको थियो। तर, भारतमै माग बढेसँगै आयातमा कटौती भएको थियो।
प्राधिकरणका अनुसार भारतबाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (IEX) को डे–अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धाबाट खरिद हुँदै आएको छ। हाल मैनैया–सम्पतिया लाइनमार्फत बिहान २ देखि ६ बजे र साँझ ६ देखि ७ बजे गरी जम्मा ५० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ।हिउँद याममा स्वदेशी उत्पादन घट्ने भएकाले प्राधिकरणले भारतबाट विद्युत् आयात गर्दै आएको हो। अघिल्लो स्वीकृतिअनुसार चैत २ सम्म २० घण्टा र त्यसपछिदेखि असार १६ सम्म सोलार घण्टामा मात्र आयातको अनुमति दिइएको थियो।