
काठमाडौं। चलचित्र विकास बोर्डले हाल देशका चार फरक स्थानमा चलचित्रसम्बन्धी कार्यक्रमहरू एकैसाथ सञ्चालन गरिरहेको जनाएको छ। बोर्डले एक विज्ञप्ति जारी गर्दै दीर्घकालीन नीति, पूर्वाधार विकास र प्रणालीगत सुधारका प्रयासहरू अघि बढाएको जानकारी दिएको छ।
बोर्डको सहकार्यमा विभिन्न भौगोलिक तथा सांस्कृतिक क्षेत्रमा चलचित्रसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालनमा छन्। तीमध्ये काठमाडौँमा ‘महिला फिल्म बनाउँछन्’ शीर्षकको दुई हप्ते कार्यशाला सञ्चालन भइरहेको छ।महिलाको फिल्म क्षेत्रमा सहभागिता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यशाला महिला फिल्म निर्माता, निर्देशक तथा प्राविधिकलाई फिल्म निर्माणको व्यावहारिक पक्षमा सशक्त बनाउनेतर्फ केन्द्रित छ।
कार्यक्रमको आयोजना शान्ता नेपाली प्रोडक्सनले गरेको हो।पोखरामा ‘लाइट क्यामेरा एक्सन’ कार्यक्रम चलिरहेको छ । नयाँ पुस्तालाई फिल्म निर्माणको प्रविधि र अभ्यासमा परिचित गराउने उद्देश्यले पोखरामा कार्यशाला सुरु गरिएको र यो कार्यक्रम बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । यसले क्षेत्रीय प्रतिभाहरूलाई केन्द्रसम्म ल्याउने प्रयास गर्ने उल्लेख छ ।
यसको आयोजना गुरुङ चलचित्रकर्मी संघले गरेको हो ।मुगुको रारा क्षेत्रमा अहिले कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जारी छ। कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई फिल्ममार्फत प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा अभिनेता प्रदीप खड्का, निर्देशक दीपाश्री निरौला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको सहभागिता रहेको छ।यता, दोलखामा थामी समुदायको विवाह संस्कृतिमा आधारित वृत्तचित्रको छायांकन भइरहेको छ।
लोपोन्मुख जातीय संस्कृतिको संरक्षण र दस्तावेजीकरण गर्न थामी जातिको विवाह परम्परामाथि आधारित डकुमेन्ट्री चलचित्र बोर्डको सहकार्यमा निर्माण भइरहेको हो। यसको निर्माण कार्य थामी चलचित्र संघले गरिरहेको छ, जसले सांस्कृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।यसैबीच, बोर्डले दीर्घकालीन योजनाहरू कार्यान्वयनतर्फ पनि उल्लेखनीय पहलहरू गरिरहेको छ। चलचित्र विधेयक संसदमा प्रक्रिया अघि बढिरहेको छ भने बनेपामा इनडोर छायांकन स्टुडियो निर्माणको प्रक्रिया सुरु भइसकेको छ। बक्स अफिस प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको छ। साथै, बोर्डले निर्माण गरिसकेको अनलाइन सेवा प्रणाली बैशाख महिनामै सार्वजनिक गर्ने तयारी गरेको छ।