• २०८३ साउन ७
  • 2026 July 23, Thursday

ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको ज्यान गयो

काडमाडौँ। ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

खिजीदेम्बा गाउँपालिका–८ रावाटोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लाग्दा कैलाली हसुलिया–४ का ३० वर्षीय बिन्दु चौधरीको ज्यान गएको हो। उनी सिग्माकोण प्रालि, काठमाडौंको ठेक्कामा सञ्चालन भइरहेको विद्युत् विस्तार परियोजनामा कार्यरत मजदुर थिए।

प्रहरी निरीक्षक मनिष लुइँटेलका अनुसार चौधरीको शव ट्रान्सफर्मरमा झुण्डिएको अवस्थामा फेला परेको थियो। घटना भएको स्थान जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र रामेछाप जिल्लाको सीमावर्ती दुर्गम क्षेत्रमा पर्छ। हाल ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम तीव्र रुपमा भइरहेको छ।