• २०८३ असार १४
  • 2026 June 28, Sunday

पाकिस्तानी आक्रमणमा लेसनायकसहित १५ भन्दा बढी भारतीय सैनिकको मृत्यु

  • २०८२ वैशाख २५, बिहीबार ११:४९

काठमाडौं । भारत र पाकिस्तानबीचको सीमा तनाव फेरि चर्किएको छ। भारतीय सेनाले बुधबार राति सैन्य अपरेसन थालेपछि पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको गोलीबारीमा परी भारतीय सेनाका एक लेस नायकसहित १५ जनाभन्दा बढीको ज्यान गएको छ। फाइभ फिल्ड रेजिमेन्टमा कार्यरत लेस नायक दिनेश कुमारको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

बुधबार बिहान १:०५ देखि १:३० बजेसम्म भारतले ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो। सो क्रममा पाकिस्तानका नौ स्थानमा निशाना साधिएको भए पनि कुनैपनि सैन्य प्रतिष्ठान लक्षित गरिएको थिएन। भारतले उक्त अपरेसनमा १०० भन्दा बढी आतंककारी मारिएको दाबी गरेको छ।

भारतको यो कारबाही हालै पहलगाममा भएको आतंकवादी हमलाको प्रतिउत्तरका रूपमा आएको हो, जसमा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो।पाकिस्तानले भारतीय कारबाहीको कडा विरोध जनाउँदै उपयुक्त समय र स्थान छानेर जवाफ दिने चेतावनी दिएको छ।

  • २०८२ वैशाख २५, बिहीबार ११:४९