• २०८३ असार १४
  • 2026 June 28, Sunday

बागलुङको माटोमा बढ्दो अम्लीयता, उब्जनीमा असर

काठमाडौं ।बागलुङ नगरपालिका–८, सिगानामा आइतबार आयोजित माटो परीक्षण शिविरमा ७५ जना किसानले आफ्नो माटो परीक्षण गराएका छन्। परीक्षणमा अधिकांश माटोमा अम्लीयपना देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिल्वालका अनुसार, ७५ मध्ये ६९ किसानको माटो अम्लीय भएको पाइएको हो। अम्लीयपनाका कारण सुन्तला उत्पादनमा गिरावट आइरहेको छ। उनले असन्तुलित मलखाद प्रयोग र प्राङ्गारिक मलको कमीले माटोको गुणस्तरमा गिरावट आएको बताए।

चालु आर्थिक वर्षमा जिल्लाका पाँच स्थानमा सञ्चालन गरिएको माटो परीक्षण शिविरमध्ये सिगानाको माटो सबैभन्दा अम्लीय भएको पाइएको छ। हालसम्म ३०९ वटा माटो नमूना परीक्षण गरिँदा १७० मा अम्लीयता, १३ मा क्षारीयता र १२६ मा तटस्थ अवस्था पाइएको छ।

विभिन्न पालिकाहरूमा परीक्षण गरिएको विवरण यसप्रकार छ:

तमानखोला गाउँपालिका–२: ४३ नमूना परीक्षण, २८ अम्लीय, १५ तटस्थ

बडिगाड गाउँपालिका–६: ५८ नमूना परीक्षण, १३ क्षारीय, १ अम्लीय, ४४ तटस्थ

ताराखोला गाउँपालिका–२: ७५ नमूना परीक्षण, ५१ अम्लीय, २४ तटस्थ

गलकोट नगरपालिका–४: ५८ नमूना परीक्षण, २१ अम्लीय, ३७ तटस्थ

कृषि ज्ञान केन्द्रकी अधिकृत जमुना भण्डारीले अम्लीय माटोको सुधारका लागि कृषि चूनको प्रयोग, रासायनिक मलको सन्तुलित प्रयोग तथा प्राङ्गारिक मल र कोसेबालीको प्राथमिकता दिन किसानलाई सुझाव दिइएको बताइन्।