• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दीपकराज गिरीको सुझाव : “पैसाका लागि हो भने ,कलाकारितामा नआउनु”

अभिनेता दीपकराज गिरीले कलाकारिता क्षेत्र पैसा कमाउने माध्यम नभएर, समर्पण र संघर्षको यात्रा भएको स्पष्ट पारेका छन्। डिजिटल मिडिया अलायन्स (डिम्यान)द्वारा आयोजित एक छलफल कार्यक्रममा उनले नयाँ पुस्तालाई सन्देश दिँदै भनेका छन्, “यदि पैसा कमाउन चाहन्छौ भने कलाकारिता क्षेत्रमा कहिले नआउनु।”

कलाकारितामा सफलता पाउन संघर्ष अपरिहार्य रहेको बताउँदै गिरीले सडकमा सुत्न र भोकै बस्न सक्ने हिम्मत भएकाहरूले मात्र यस क्षेत्रमा टिक्न सक्ने उल्लेख गरेका छन् । उनका अनुसार, यस क्षेत्रमा संघर्ष गर्ने मध्ये ५ प्रतिशत मात्र सफल हुन्छन्।

साथै, उनले आफूले बुझेको क्षेत्रमा मात्रै लगानी गर्न सुझाव दिएका छन्। चलचित्र क्षेत्रमा करिअर सुरु गरेका गिरीले आफूले सिनेमा हलमा लगानी गर्नुको कारण पनि सोही अनुभव र बुझाइ भएको बताएका छन्।

सामाजिक सञ्जालको बढ्दो प्रभावले दर्शकको धैर्यता घट्दै गएको उल्लेख गर्दै उनले अहिलेका निर्माता–निर्देशकलाई कथावाचनमा नयाँ शैली अपनाउनुपर्ने आवश्यकता रहेको कुरा पनि औंल्याएका छन्।

दीपकराजगिरी निकट भविष्यमा जितु नेपाल र सिताराम कट्टेलसंग फिल्म ‘पाँच पाण्डव’मा अभिनय गर्ने चर्चा यतिबेला चलिरहेको छ, यद्यपि यसको औपचारिक पुष्टि भने भइसकेको छैन।