
काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध संघर्षरत किसान–मजदुरहरूले रास्वपा सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला कारागारमा भेट गरेका छन्।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलीले लामिछानेलाई भेट गर्दै आफ्नो गुनासो राखेको हो। उनीहरूले सरकार मिटरब्याज पीडितप्रति उदासीन बनेको आरोप लगाए।
गृहमन्त्री हुँदा लामिछानेले पीडितहरूसँग गरिएका सम्झौताहरू नयाँ सरकारले कार्यान्वयन नगरेको भन्दै टोलीले चिन्ता व्यक्त गर्यो। ‘पहिला जुन तत्परताका साथ काम भएको थियो, अहिले त्यो देखिँदैन’, संघर्ष समिति सदस्य निर्घ नविनले भने, ‘सरकारले हामीलाई चिन्न छाडिसकेको जस्तो भैरहेको छ।’
संयोजक कुशवाहका अनुसार विभिन्न जिल्लाहरूमा प्रहरी र सिडिओ परिवर्तन भएसँगै पीडितहरूलाई नै मुद्दा लगाएर पक्राउ गर्न थालिएको छ। उनले सरकार साहुकारहरूलाई जोगाउन लागि परेको आरोप लगाए। ‘गृह मन्त्रालयको ढोका अहिले पीडितका लागि बन्द जस्तै भएको छ’, उनले भने।जवाफमा रवि लामिछानेले पीडितहरूलाई नआत्तिन र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
‘धनी र गरिबबीचको लडाइँ लामो हुन्छ, तर अन्ततः न्यायको जित हुन्छ,’ उनले भने। ‘तपाईंहरू बीच फाटो आउन दिनुहुन्न। मलाई हेर्नुस्, म जनताको लागि लडेँ र आज यो अवस्था आएको हो। न्याय पाउनुअघि पीडामा पर्नु नैपर्छ। तर अन्ततः तपाईंहरूलाई न्याय अवश्य मिल्छ।’लामिछानेले सरकारले जनताको आवाज सुन्नु पर्नेमा जोड दिँदै, ‘आज नभए भोलि, यो सरकारले नभए अर्कोले तपाईँको आवाज अवश्य सुन्छ’, भने।