• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

तीनकुने प्रदर्शनको अनुसन्धान सकियो, दुर्गा प्रसाईंसहित ८ जनामाथि ज्यानसम्बन्धी अभियोग सिफारिस

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा भएको अवाञ्छित गतिविधि सम्बन्धी अनुसन्धान प्रहरीले पूरा गरेको छ। काठमाडौँ प्रहरीले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेको छ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बुधबार साँझसम्म प्रतिवेदन बुझाउने तयारी भइरहेको छ। सो घटनामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध ज्यानसम्बन्धी अभियोग लगाउनुपर्ने राय प्रहरीको छ।

दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा भाग लिने केही व्यक्तिहरूले आगजनी गरेका थिए, जसका कारण सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा जलेर नष्ट भएको थियो। सो आगलागीमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

रामेछापका सरोज गौतम, अछामका गोकर्ण शाही (अनुप विक्रम ठकुरी) र दुर्गा प्रसाईंसहित ८ जनालाई ज्यानसम्बन्धी कसुरमा अभियुक्त बनाउने प्रस्ताव प्रहरीको छ। अनुसन्धान अधिकारीहरूले प्रतिवेदन अन्तिम चरणमा पुर्‍याइरहेका छन्।

प्रहरीको प्रतिवेदनमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव र संगठित अपराधजस्ता मुद्दाहरूमा अभियोजन गर्नुपर्ने उल्लेख छ।

तीनकुने घटनामा संलग्न भई पक्राउ परेका मध्ये २६ जना राज्यविरुद्धको कसुरमा र २७ जना आपराधिक उपद्रवमा हिरासतमा रहेका छन्। बाँकी केही अभियुक्तहरू भने अनुसन्धानपछि हाजिर जमानीमा रिहा भएका छन्।