• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

१० महिनामा १६ खर्बभन्दा बढीको वैदेशिक व्यापार, व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म (१० महिना) को अवधिमा देशको कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले बढी हो। गत वर्ष यति समयमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँको व्यापार भएको थियो।

यस वर्षको पहिलो १० महिनामा आयात र निर्यात दुवै बढेका छन्। कुल व्यापारमा आयातको हिस्सा ८७.१२ प्रतिशत रहेको छ भने निर्यात १२.८८ प्रतिशत पुगेको छ। यसले गर्दा देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो। गत वर्ष सोही अवधिमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ लाख रुपैयाँ थियो।

भन्सार विभागका अनुसार चालु वर्ष वैशाख मसान्तसम्म १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ, जुन अघिल्लो वर्षको १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको तुलनामा १३.११ प्रतिशतले बढी हो।

यता निर्याततर्फ हेर्दा, चालु वर्षको वैशाख मसान्तसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको निर्यातभन्दा ७२.७१ प्रतिशतले बढी हो।