त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ।
विमानस्थलका सुरक्षा स्रोतहरूका अनुसार, अख्तियारका अनुसन्धान अधिकारीहरू हाल उक्त कार्यालयमै रहेका छन्।
अध्यागमन कार्यालयमा अनियमितता र सेटिङसम्बन्धी सूचना तथा उजुरी पाएपछि अख्तियार टोलीले छापा मारेको हो। आज मात्रै गृहमन्त्री रमेश लेखकले विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा पनि हेरफेर गरेका थिए।
प्रारम्भिक छापाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने देखिएको छ ।
त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ ।
भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको छ । ‘मोबाइलमा यससँग सम्बन्धित महत्त्वपूर्ण विवरणहरू छन्’, एक अधिकारीले भने, ‘कागजातहरू समेत नियन्त्रणमा लिएर अब विस्तृत अनुसन्धान हुन्छ ।’
अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारिरहेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले चाहिँ आफू बाहिर रहेको भन्दै घटनाबारे बताउन चाहेनन्।
आयोग स्रोतका अनुसार, उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको बारे यथेष्ट आधारहरू फेला परेका छन् । यसबारे गृह मन्त्रालयसम्म पनि सूचना पुगेको थियो । त्यसपछि एकदिन अघि मात्र उनी सरुवामा परेका थिए ।