• २०८३ असार ८
  • 2026 June 22, Monday

जेठ १५ गतेदेखि आन्दोलनको तयारीमा रहेका राजावादी समूहले तीन दिने जनजागरण अभियान एकाएक किन स्थगित गरे?

काठमाडौँ । वर्तमान राजनीतिक व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गर्न लागेको तीन दिने जनजागरण अभियान अचानक स्थगित गरिएको छ।

जेठ ८ गतेदेखि सुरु भई ११ गतेसम्म काठमाडौँ उपत्यकाको काँठ क्षेत्रका विभिन्न स्थानमा सञ्चालन हुने भनिएको धार्मिक तथा जनजागरण कार्यक्रम स्थगित गरिएको जानकारी बुधबार सार्वजनिक सूचनामार्फत दिइएको हो।

समितिका संयोजक नवराज सुवेदीद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “जेठ ८ देखि ११ गतेसम्म काठमाडौँ उपत्यकामा तय गरिएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगित गरिएको छ। यसबारे विस्तृत जानकारी अर्को सूचनामार्फत दिइनेछ।”

आन्दोलन निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले भने स्थगनको मुख्य कारण आन्तरिक तयारी रहेको स्पष्ट पारिन्। उनले भनिन्, “आन्तरिक तयारी गर्नुपर्ने भएकाले अभियान केही समयका लागि स्थगित गरिएको हो, यसबाहेक अन्य कुनै कारण छैन।”

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरिसकेको छ। यस आन्दोलनमा राजावादी प्रमुख दल राप्रपाको पनि समर्थन रहने जनाइएको छ।