काठमाडौं । बागलुङ जिल्लाका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएको पालिका घोषणा गरिएको छ। बागलुङ, गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकाले नियमित खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि ती पालिकालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना र १६ देखि २४ महिना उमेर समूहका ४४९ जना बालबालिकाले खोप लगाएपछि नगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए। नगरका सबै १४ वटै वडामा खोप सेवा उपलब्ध रहेको उनले बताए।
गलकोट नगरपालिकामा १५ महिनासम्मका ४२७ र १६ देखि २३ महिनासम्मका ३२७ बालबालिकालाई खोप लगाइएपछि नगरलाई पूर्णखोप पालिका घोषणा गरिएको हो। स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलका अनुसार नगरपालिकामा रहेका १४ वटै स्वास्थ्य संस्थाबाट खोप सेवा प्रदान गरिएको छ।
ढोरपाटन नगरपालिकामा १५ महिनासम्मका ६०८ र १६ देखि २३ महिनासम्मका ४५४ बालबालिकालाई खोप दिइएपछि नगरलाई पूर्णखोप पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताए। उनका अनुसार गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको थियो र चैत्र तथा वैशाख महिनामा सबै वडालाई पूर्णखोप वडाका रूपमा घोषणा गरिएको थियो।
जैमिनी नगरपालिकामा १५ महिना उमेर समूहका ३१३ र १६ देखि २३ महिना उमेर समूहका २२५ बालबालिकाले खोप पाएपछि पालिकालाई पूर्णखोप घोषणा गरिएको हो, भनी स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए।
ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका १२३ बालबालिकाले नियमित खोप सेवा लिएको र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिइएपछि पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो। पालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाका अनुसार त्यहाँ रहेका ६ वटै स्वास्थ्य संस्थाबाट खोप सेवा प्रदान गरिएको छ।
हाल निसिखोला, तमानखोला, काठेखोला, बडिगाड र बरेङ गाउँपालिकामा भने पूर्णखोप घोषणा हुन बाँकी छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार, आगामी जेठ २५ गतेसम्म बाँकी पालिकाहरूमा पनि खोप अभियान पूरा गरी बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएको जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ।
