• २०८३ असार ७
  • 2026 June 21, Sunday

राष्ट्र बैंकमा प्रमुख जिम्मेवारीमा फेरबदल, भट्टको राजीनामा गभर्नरले अस्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको जिम्मेवारीमा हेरफेर गरिएको छ। गभर्नर डा. विश्व पौडेलले शनिबारदेखि कार्यान्वयनमा आउने गरी कार्यकारी तहमा नयाँ जिम्मेवारी तोकेका हुन्।

नयाँ व्यवस्था अनुसार आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक रहेका गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ। गभर्नर पदका आकांक्षी भट्टले यसअघि राजीनामा दिएका थिए, तर गभर्नर पौडेलले उक्त राजीनामा अस्वीकृत गर्दै उनलाई गभर्नर कार्यालयमै पठाएका हुन्।

भट्टको स्थानमा रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ। खरेल यसअघि जनशक्ति व्यवस्थापन (मानव संसाधन) विभागमा कार्यरत थिए। उनको स्थानमा मानव संसाधन विभागको जिम्मेवारी अब विश्रुत थापालाई दिइएको छ। थापा यसअघि बैंकिङ विभागमा कार्यरत थिए।

शनिबार कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ अनिवार्य अवकाशमा गएपछि गभर्नर कार्यालयमा रिक्तता आएको थियो। उनको अवकाशपछि बैंकिङ विभागको जिम्मेवारी पनि खाली भएको छ। अब त्यहाँ वरिष्ठ निर्देशकहरूबाट कार्यकारी निर्देशक पदमा बढुवा गरिने प्रक्रिया अघि बढाइनेछ, जसमा डिल्लीराम पोखरेल वरिष्ठतामा अगाडि छन्।

गभर्नर पौडेलले यसअघि बिहीबार डेपुटी गभर्नरहरूबीच कार्य विभाजन गरेका थिए। पछिल्लो हेरफेरपछि अन्य कार्यकारी निर्देशकहरूको जिम्मेवारी भने यथावत् राखिएको छ।