• २०८३ असार ७
  • 2026 June 21, Sunday

राजावादीको आन्दोलन रोक्न च्यासलमा एमालेको बैठक

काठमाडौं । नेकपा एमालेका जनसंगठन पदाधिकारीहरूको बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। जनसंगठन संयन्त्रको आयोजनामा भइरहेको बैठक आगामी जेठ १५ गते आयोजना हुने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको छ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, लेखराज भट्ट, पद्मा अर्याल, गोकर्ण विष्टलगायत नेताहरू सहभागी छन्।

यसअघि आइतबार बसेको एमाले सचिवालय बैठकले जेठ १५ गते राजावादी आन्दोलनको प्रतिवादस्वरूप देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। सो दिनलाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको विशेष उत्सवका रूपमा मनाउने निर्णयसहित जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ।

गौरतलब छ, २०६५ सालको यही दिन (जेठ १५ गते) पहिलो संविधानसभाले गणतन्त्र घोषणा गरेको थियो। त्यसै दिनदेखि राजावादी पक्षले पनि आन्दोलनको घोषणा गरेको छ। उनीहरूले ‘राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने’ बताउँदै नवराज सुवेदी नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरी तयारी गरिरहेका छन्।

राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी तथा पुनरुत्थानवादी समूहहरूको समर्थन रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूको आन्दोलनको प्रतिवाद गर्न निर्देशन दिइसकेका छन्। आजको बैठकबाट उक्त आन्दोलन निष्क्रिय पार्ने रणनीति तय गरिने बताइएको छ।