काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)का सह–अध्यक्ष गंगानारायण श्रेष्ठ करिब एक दशकपछि नेकपा (माओवादी केन्द्र)मा पुनः फर्किएका छन्।
सोमबार ललितपुरको ग्वार्कोमा आयोजित एकता सभामार्फत उनी माओवादी केन्द्रमा औपचारिक रूपमा फर्किएका हुन्।श्रेष्ठ र माओवादी केन्द्रबीच भएको ५ बुँदे सहमति अनुसार उनलाई पार्टीको सचिवको जिम्मेवारी दिइएको छ। श्रेष्ठले २०७२ सालमा माओवादी पार्टी परित्याग गरेका थिए। त्यसयता उनी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक यात्रामा सहभागी रहँदै आएका थिए।
भट्टराईले सुरु गरेको वैकल्पिक राजनीतिक धार ‘नयाँ शक्ति’ अभियानमा सहभागी हुन श्रेष्ठले माओवादी पार्टी छाडेका थिए। नयाँ शक्ति नेपालले २०७४ को निर्वाचनमा अपेक्षाकृत खराब प्रदर्शन गरेपछि उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी (जसपा) गठन गरिएको थियो। जसपामा श्रेष्ठ महासचिवका रूपमा कार्यरत रहे।
२०७९ मा भट्टराईको नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएपछि श्रेष्ठ सह–अध्यक्ष बने। त्यसयता उनले माओवादीसँग एकताका लागि निरन्तर पहल गरेका थिए। श्रेष्ठकै संयोजकत्वमा नेसपाले वार्ता समिति गठन गरेको थियो, र ९ बुँदे वैचारिक आधारपत्र समेत माओवादीलाई पठाइएको थियो। तर, अन्तिम समयमा भट्टराईले एकताबाट पछि हटेपछि श्रेष्ठले अर्का अध्यक्ष महेन्द्र राय यादवको साथ लिए।
२०८० चैत ३ गते भट्टराईलाई छलेर नेसपाले माओवादीसँग एकता गर्न ३ बुँदे सहमति गरेको थियो। तर, महेन्द्र रायले १४ महिना एकता प्रक्रिया अल्झाएपछि श्रेष्ठले आफ्नै नेतृत्वमा नेसपा पुनर्गठन गरी माओवादीसँग एकता गर्ने निर्णय गरेका हुन्।एकता घोषणा अघि माओवादी केन्द्रको पदाधिकारी बैठकले नेसपासँग एकता गर्ने निर्णय गरिसकेको थियो। श्रेष्ठका अनुसार पार्टीको नाम, झण्डा, र कार्यदिशा एकता महाधिवेशनमार्फत टुंगो लगाइनेछ।
श्रेष्ठले भने, “एकता प्रक्रियाका सबै आधार र सैद्धान्तिक विषयमा सहमति भइसकेको छ। अब महाधिवेशनबाट संस्थागत निर्णय हुनेछ।”श्रेष्ठका अनुसार प्रारम्भिक सहमतिमा बाबुराम भट्टराई समेत सामेल हुने भनिए पनि उनले अन्तिम समयमा विभिन्न बहाना बनाउँदै पछि हटे। त्यसपछि श्रेष्ठले यादव नेतृत्वमाथि पनि असन्तुष्टि जनाउँदै नयाँ संरचना बनाएर माओवादीसँग एकता घोषणा गरेका हुन्।
को हुन् गंगानारायण श्रेष्ठ?
सिन्धुली जिल्लाको साविक सिद्धेश्वर गाविस (हाल कमलामाई नगरपालिका–५)मा २०२६ फागुन १० मा जन्मिएका श्रेष्ठ माओवादी जनयुद्धकालमा ‘प्रभात’ उपनामले परिचित थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र नेपाली विषयमा स्नातकोत्तर गरेका छन्।
श्रेष्ठको राजनीतिक यात्रा २०४३ सालमा अनेरास्ववियु (छैटौँ)बाट सुरु भएको हो। २०४५ मा नेकपा (मसाल)को सदस्य बनेका उनी २०५२ मा अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय महासचिव बन्न पुगे। उनी २०५३ मा पक्राउ परी ५ वर्ष ३ महिना जेलमा बसे।
२०६० मा नेकपा (माओवादी)को वैकल्पिक केन्द्रीय सदस्य बनेका श्रेष्ठ २०६३ देखि २०६४ सम्म अन्तरिम व्यवस्थापिका संसद सदस्यसमेत थिए। २०६८ भदौदेखि २०६९ फागुनसम्म प्रधानमन्त्री डा. भट्टराईको प्रमुख स्वकीय सचिवको भूमिका निर्वाह गरे। २०७० मा सिन्धुली क्षेत्र नं. २ बाट उम्मेदवारी दिँदा पराजित भए।
पछिल्लो एक दशकमा उनले नयाँ शक्ति, जसपा, लोसपा–जसपा एकता र नेसपा हुँदै माओवादीसँग पुनः एकता गर्ने यात्रामा सक्रिय भूमिका निर्वाह गरेका छन्। माओवादी केन्द्रले एकता प्रक्रियामा सामेल भएका नेताहरूलाई उनीहरूको पूर्वभूमिकाका आधारमा जिम्मेवारी दिने नीति लिएको छ। श्रेष्ठसँगै १७ जना केन्द्रीय कार्यकारी सदस्य र करिब १०० जना केन्द्रीय सदस्य माओवादीमा समाहित भएका छन् भन्ने दाबी गरिएको छ।