• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गगन थापाको प्रतिक्रिया– प्रधानमन्त्रीबाट यस्ता अभिव्यक्ति अपेक्षित छैनन्, भविष्यमा नदोहोरियोस्

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अभिव्यक्तिमा सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले हालै पार्टी कार्यक्रममार्फत जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्ने निर्देशन दिएका थिए। उनले कार्यकर्ताहरुलाई तयारी अवस्थामा बस्न र आवश्यक निर्देशन पार्टीबाट आउने बताएपछि सो अभिव्यक्तिलाई लिएर आलोचना शुरु भएको हो।

ओलीले भनेका थिए, “म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउँछ। १५ गतेका लागि भोलि उठ्नेबित्तिकै तयारी थाल्नुस्। के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। तपाईंहरू तयारी अवस्थामा बस्नुहोला।”

उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेस महामन्त्री थापाले भने, “हामीले त कसैलाई उत्तेजनामा ल्याउने खालको कुरा गर्न नपाइने भनिन्छ। प्रधानमन्त्रीजस्तो व्यक्तिले यस्ता अभिव्यक्ति दिनु कल्पनातीत कुरा हो। यस्ता कुरा दोहोरिनुहुँदैन।”

थापासँगै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि प्रधानमन्त्री ओलीका अभिव्यक्तिको जिम्मेवारी कांग्रेसले लिने छैन भनेका छन्। उनले प्रधानमन्त्रीको भनाइ लोकतान्त्रिक अभ्यासविपरीत रहेको जिकिर गरे। नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्तिजनक र उत्तेजनात्मक भन्दै भविष्यमा संयमित रहने आग्रह गरेको छ।