काठमाडौं। काठमाडौँ महानगरपालिकाका ३९ जना कार्यपालिका सदस्यहरूले मेयर बालेन्द्र साह (बालेन)लाई तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन्। सोमबार सम्पन्न कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकपछि उनीहरूले यस्तो माग अघि सारेका हुन्।
कुल ४० सदस्य रहेको कार्यपालिकामा मेयर साहबाहेक सबै सदस्यको उपस्थिति रहेको बैठकमा सहभागी सदस्यहरूले लामो समयदेखि कार्यपालिका बैठक नबसेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनामा एकपटक बस्नुपर्ने कानुनी व्यवस्था छ। तर, पुस महिनादेखि अहिलेसम्म कुनै बैठक नबसेको प्रवक्ता नविन मानन्धरले जानकारी दिए। उनका अनुसार, यही कारणले आवश्यक विकास निर्माण, नीतिगत निर्णय, र बजेट निर्माण जस्ता महत्वपूर्ण कामहरू अन्योलमा परेका छन्।
प्रवक्ता मानन्धरले भने, “छ महिनादेखि कार्यपालिका बैठक नबसेपछि हामीले दबाबस्वरूप मेयरलाई पत्र बुझाएका छौँ। असार १५ भित्र बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेकाले समयमै छलफल आवश्यक छ। तर, बैठक नबसेका कारण आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया नै प्रभावित भएको छ।”
स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिका र सभाको बैठक नगर प्रमुखले बोलाउने र अध्यक्षता गर्ने व्यवस्था छ। तर, मेयर साहले बैठक नबोलाउँदा आगामी बजेटको आयतन र प्राथमिकता समेत अन्योलमा परेको जनाइएको छ। साथसाथै, बर्खायाम नजिकिँदै जाँदा विपद् व्यवस्थापनसम्बन्धी तयारीसमेत प्रभावित हुने खतरा देखिएको जनप्रतिनिधिहरूको भनाइ छ।
एक वडाध्यक्षले मेयरको व्यवहारप्रति गुनासो गर्दै भने, “हामी जनप्रतिनिधिहरूले खोज्दा पनि उहाँ भेटिँदैन। कहिलेकाहीं उहाँ कहाँ हुनुहुन्छ भन्ने जानकारी उहाँको सामाजिक सञ्जालबाट मात्र थाहा पाइन्छ। यस्तो अवस्थामा जनताप्रति जवाफदेहिता गम्भीर रूपमा प्रभावित भएको छ।”