काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वयंसेवक तथा सुरक्षा संगठन “अनवरत तत्पर फौज (एटीएफ)” का सदस्य सरोज गौतम (तारा राजावादी) ले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफैँले आगो लगाएको स्वीकारेका छन्।
गौतमविरुद्ध आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। उनले प्रहरी समक्ष दिएको बयानमा आगजनी र प्रदर्शनका सम्बन्धमा विस्तृत विवरण दिएका छन्।
गौतमका अनुसार उनी चैत १५ गते बिहान १० बजे नै कार्यक्रमस्थलमा पुगेका थिए। उनले दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायतसँग पटकपटक कुराकानी भएको उल्लेख गरेका छन्। उनका अनुसार रविन्द्र मिश्र र धवल शम्शेर स्टेजमा भाषण गरिरहँदा प्रसाई नेतृत्वको समूहले निषेधित क्षेत्रमा संसद भवन कब्जा गर्नुपर्छ भन्दै भिडलाई उत्तेजित बनाउँदै अघि बढाएको थियो।
प्रहरीले रोक लगाएपछि उनी र प्रसाई कार्यक्रम स्थलतर्फ पैदल गएका थिए। त्यसक्रममा मिश्र र शम्शेरले स्टेजबाट दिएको उत्तेजक अभिव्यक्तिपछि भिडले प्रहरीमाथि ढुंगामुढा सुरु गरेको उनले बयानमा उल्लेख गरेका छन्।
गौतमका अनुसार त्यसै क्रममा पाँच तले एक घरको सटर च्यानल गेटको ताला फोडेर उनीहरू भित्र छिरेका थिए। घरभित्र तोडफोड, लुटपाट र आगजनी भइरहेको देखेपछि गोकर्ण शाहीको हातमा रहेको लाइटर लिएर आफैँले आगो लगाएको स्वीकार गरेका छन्।
आगो दन्किएपछि उनी त्यहाँबाट भागेर आफ्नो डेरातर्फ फर्किएको बताएका छन्। उनले उक्त घटनाको परिणामस्वरूप एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको खबर सामाजिक सञ्जालबाट मात्र थाहा पाएको दाबी गरेका छन्।