• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

उपाध्यक्ष अधिकारी र गभर्नर पौडेलबीच नीति समन्वयमा भेटवार्ता

काठमाडौं।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच सिंहदरबारस्थित आयोगको कार्यालयमा भेटवार्ता भएको छ।

मंगलबार सम्पन्न भेटमा वित्त नीति र मौद्रिक नीतिबीचको अन्तरसम्बन्ध, त्यसको स्वतन्त्रता तथा समन्वयबारे छलफल भएको आयोगले जनाएको छ।

भेटका क्रममा दुवै अधिकारीले वित्तीय र मौद्रिक नीतिहरूलाई सँगसँगै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। साथै, योजनाले लक्षित गरेअनुसार उच्च, समावेशी र दिगो आर्थिक वृद्धि हासिल गर्न सहकार्य आवश्यक रहेकोमा सहमति व्यक्त गरिएको थियो।

उपाध्यक्ष अधिकारीले आयोगबाट हालै अगाडि बढाइएका वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथमिकिकरण, आयोजना बैंकको प्रभावकारी सञ्चालन तथा मध्यमकालीन खर्च संरचनाजस्ता सुधार कार्यक्रमहरूको जानकारी गराएका थिए।

गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रको संलग्नता अभिवृद्धि गर्न तथा लगानीमैत्री वातावरण निर्माणका लागि राष्ट्र बैंकले आवश्यक नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।