काठमाडौं। प्रतिनिधिसभाको बैठकअघि साझा रणनीति बनाउन विपक्षी दलहरू बैठकमा बस्ने भएका छन्। संसद् भवन नयाँ बानेश्वरमा प्रमुख विपक्षी दलका नेता तथा प्रमुख सचेतकहरूको बैठक बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
उनका अनुसार, प्रतिनिधिसभाको पहिलो बैठकमा विपक्षी दलहरूले आ-आफ्ना धारणा राख्ने छन् भने परिस्थिति अनुसार थप निर्णय उक्त बैठकले लिनेछ। “बजेट रोक्ने हाम्रो उद्देश्य होइन। पहिलो बैठकमा हामी धारणा सार्वजनिक गर्छौं, बाँकी निर्णय विपक्षीहरूको बैठकले लिन्छ,” परियारले भने।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः३० बजेका लागि तय गरिएको छ। त्यसपछि, आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नका लागि संघीय संसद्को संयुक्त बैठक दिउँसो ३ बजे बोलाइएको छ। संविधान अनुसार सरकारले यही बैठकमा बजेट पेस गर्नुपर्ने व्यवस्था छ।
तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन्। बुधबार बसेको विपक्षी दलहरूको बैठकले बजेट पेस गर्न दिने तर त्यसपछि गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध जारी राख्ने निर्णय गरेको थियो।