मोरङको उर्लाबारीमा घरपालुवा कुकुर प्रयोग गरी लागुऔषध तस्करी गर्ने कार्य भइरहेको पाइएको छ।
उर्लाबारी नगरपालिका–४ निवासी २४ वर्षीय प्रशान भण्डारीलाई बिहीबार पक्राउ गरेपछि यस्तो तरिका सार्वजनिक भएको हो।
भण्डारी सोही दिन दिउँसो ‘रक्की’ नामको कुकुर लिएर भारतको सीमावर्ती बजार जोगबनी गएका थिए। साँझ करिब ५ बजे उनी कुकुरसहित फर्किए।
तर, प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कुकुरको घाँटीमा बाँधिएको बेल्टभित्र लागुऔषध लुकाइएको पाइएको हो। मोरङ प्रहरीले दिएको जानकारीअनुसार भण्डारीसँगको सोधपुछपछि कुकुरको बेल्टभित्र ३.३६ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) र ३५ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ।
यो घटनाले लागुऔषध ओसारपसारमा प्रयोग हुने नयाँ तरिका उजागर भएको प्रहरीको भनाइ छ।