• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

निजी विद्यालयमा नेपाली भाषा बोलेको भन्दै विद्यार्थीमाथि कारबाही हुने घटनाविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं । निजी विद्यालयमा नेपाली भाषा बोलेको भन्दै विद्यार्थीमाथि हुने कारबाहीविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा शुक्रबारका लागि पेसी तोकिएको छ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सो रिटमाथि सुनुवाइ हुने छ। कानुन विषय अध्ययनरत विद्यार्थी आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले संयुक्त रूपमा यो रिट दायर गरेका हुन्।

उनीहरूले केही निजी विद्यालयहरूमा नेपाली भाषा प्रयोग गरेकै आधारमा विद्यार्थीलाई पिटाइ, जरिबाना र मानसिक दबाव दिने कार्य भइरहेको उल्लेख गर्दै यस्तो व्यवहार संविधानविरुद्ध भएको जिकिर गरेका छन्।

रिटमा प्याब्सन, प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालयलगायतलाई विपक्षी पक्ष बनाइएको छ। रिट निवेदकहरूका अनुसार नेपाली भाषा बोलेको निहुँमा कडा कारबाही गरिने क्रम बढेपछि उनीहरूले न्यायिक हस्तक्षेपको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन्।