काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद अवरुद्ध राख्ने निर्णय नेकपा माओवादी केन्द्रले गरेको छ । खुमलटारमा बसेको पार्टी पदाधिकारीहरूको बैठकले गृहमन्त्रीले छानबिन सहज बनाउन राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी सचिव लीलामणि पोखरेलका अनुसार बैठकमा अब अन्य दलहरूसँग सहकार्य गर्दै संसदमा थप दबाब सिर्जना गर्ने रणनीति बनाइएको छ । उनले भने, “हामीले पहिले नै यो मुद्दा उठाइसकेका छौं । अब अन्य दलहरूको साथमा संसदमा सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।”
संवैधानिक बाध्यताका कारण हिजोको संसद बैठकमा बजेट पेस गर्न अवरोध नगरेको भए पनि अबदेखि संसदको अन्य कार्यसूची अघि बढ्न नदिने पोखरेलले जानकारी दिए । यद्यपि, प्रमुख विपक्षी दल एमाले र सत्तारूढ कांग्रेसका शीर्ष नेताहरूले गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताएका छन् ।