• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अविरल वर्षाका कारण झापाको कालिखोलामा डाइभर्सन बग्दा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

शनिबार बिहानदेखि परेको लगातारको वर्षाका कारण झापाको मेचीनगर–६ स्थित कालिखोलामा निर्माणाधीन डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाढीले डाइभर्सनसँगै सडक समेत बगाएपछि सवारी आवागमन ठप्प भएको हो।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले डाइभर्सन बगाएपछि सवारीका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको जानकारी दिए। अब शान्तिगाउँ वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्क जाने रूट प्रयोग भइरहेको छ।

सडक पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा भारी वर्षा भएको जनाउँदै मेची, विरिङ, कन्काई, निन्दा, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत साना खोलामा बाढीको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागले आज दिउँसोसम्म विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ।