काठमाडौंमा भइरहेको राजावादी आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरीद्वारा नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कडा चेतावनी दिएका छन्। उनले कमल थापालाई ससम्मान रिहा नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेका छन्।
प्रदर्शनलाई सम्बोधन गर्दै लिङ्देनले अब आन्दोलन अझ कडा र फैलिएको रूप लिने बताएका छन् । “अब एक ठाउँमा जम्मा भएर होइन, देशभरबाट ५० ठाउँबाट आन्दोलन अघि बढ्छ,” भन्दै उनले आन्दोलनको रुपान्तरणको संकेत गरे।
जेठ १५ देखि राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको मागसहित सुरु भएको आन्दोलन शनिबार नक्शाल र बालुवाटारमा पुगेको थियो। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। कमल थापा बालुवाटारतर्फ नेतृत्व गर्दै अघि बढ्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र चार जना समातिएको जनाइएको छ।
लिङ्देनले आन्दोलनलाई निर्णायक बनाउने अडान दोहोर्याउँदै आफूहरुको धैर्यलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छन्।