• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राजावादीले सुरु गरे धर्ना, कमल थापालगायत नेताहरूको रिहाइको माग

काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शनमा उत्रिएका राजावादीहरू आइतबार राजधानीमा सडकमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच जना नेतालाई नारायणचौरबाट बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ।

थापाको गिरफ्तारीपछि आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, ‘थापासहित पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गर्दै हामीले धर्ना थालेका हौं। यदि उनीहरू चाँडै रिहा भएनन् भने आन्दोलन थप कडा बनाइनेछ।’

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार, निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि कमल थापा र अन्य चार जनालाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनकारीहरूले नारायणचौरबाट जुलुस निकाली बालुवाटारतर्फ लाग्दा प्रहरीले बाटोमा राखिएको अवरोध पार गर्न खोजेपछि हस्तक्षेप गरिएको थियो।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ। प्रहरीका अनुसार उनीहरू शान्ति सुरक्षामा खलल पुग्ने गरी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेकाले नियन्त्रणमा लिइएको हो। राजावादीहरू गत १५ जेठदेखि राजसंस्था पुनःस्थापना र नेपाललाई पुनः हिन्दू राज्य घोषणाको मागसहित आन्दोलनमा छन्।

शनिबारको प्रदर्शन पनि बालुवाटार नजिकै पुगेर रोकिएको थियो। आइतबार पनि त्यस्तै प्रयास भएको र उनीहरू उग्र भएको प्रहरीको दाबी छ। बालुवाटार क्षेत्रलाई सरकारले प्रधानमन्त्री, सभामुख लगायत उच्च पदाधिकारीहरूको निवास भएकाले संवेदनशील क्षेत्र मानेर निषेधित क्षेत्र घोषणा गरेको छ। यता प्रदर्शनकारीहरू भने आफ्ना मागहरू पुरा नभएसम्म दबाबमूलक आन्दोलन जारी राख्ने अडानमा छन्।