काठमाडौं। प्रतिनिधिसभा सदस्य दीपक बोहोरोको निधनपछि रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको चर्चा सुरु भएको छ। विभिन्न राजनीतिक दलहरू तयारीमा जुटिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो सक्रियता बढाएका छन्।
रास्वपाले हालसम्म उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छैन। तर, सभापति रवि लामिछाने थुनिएको जिल्ला कारागार यही क्षेत्रमा पर्ने हुँदा पार्टीका नेताहरूको आउजाउ बढ्दो छ। लामिछानेलाई भेट्न र पार्टी संगठन विस्तार गर्न रास्वपाका नेताहरू रुपन्देहीमा सक्रिय देखिएका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले पनि आफ्नो अभियानलाई सक्रिय बनाएका छन्। उनले भैरहवामा ‘स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगर’ले आयोजना गरेको छलफल कार्यक्रममा पुराना दलहरूले मुलुक निर्माण गर्न नसकेको भन्दै नयाँ सोच र नेतृत्वको खाँचो औंल्याए।
ढकालले भने, “पुराना दलहरूको नेतृत्वबाट जनता आजित भइसकेका छन्। राजनीति पेशा बन्नु हुँदैन। सबैभन्दा धेरै खर्च गर्ने उम्मेदवार नै भ्रष्टाचारमा लिप्त हुने सम्भावना हुन्छ।” उनले आगामी २०८४ सालअघि हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट पारे।
कार्यक्रममा अभियान संयोजक नारायण प्रसाद भण्डारीले मुलुकमा भ्रष्ट र प्रतिशोधपूर्ण राजनीति चलिरहेको उल्लेख गर्दै स्वतन्त्र जनप्रतिनिधिहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए। स्थानीय झबिन्द्र प्रसाद बेल्बासेले पार्टीको सिण्डिकेट तोड्न सामूहिक रूपमा लाग्नुपर्ने धारणा राखे।
भैरहवा आएका सागर ढकालले जिल्ला कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका थिए। ढकाल २०७९ सालको आमनिर्वाचनमा डडेलधुरा क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका थिए।