काठमाडौं। राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले दरबार हत्याकाण्डको २४औँ वार्षिक स्मृतिमा दिवंगतहरूको सम्झनामा दीप प्रज्वलन गर्ने भएको छ।
सोमबार समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा अनुसार साँझ ६ बजे काठमाडौँको कमलादी गणेशस्थानमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ। दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको जनाइएको छ।
विज्ञप्तिमा शोकको दिन भएकाले कुनै जुलुस वा धर्ना कार्यक्रम नराखिने स्पष्ट गरिएको छ। संयोजक सुवेदीले उक्त कार्यक्रममा आन्दोलनमा संलग्न व्यक्ति तथा सर्वसाधारणलाई सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।
२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहसहित उनका परिवारका सदस्यहरूको हत्या भएको दरबार हत्याकाण्ड नेपालको इतिहासमा एक महत्वपूर्ण तथा दुःखद घटना मानिन्छ।