गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी ऐनको विरोधमा यातायात व्यवसायीहरू देशभर आन्दोलित छन्। आन्दोलनको कारण सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण यात्रुहरू ठूलो सास्तीमा परेका छन्। राइड सेयरिङको विरोधमा बन्द गरिएको भए पनि बन्दका कारण राइड सेयरिङ नै मालामाल बनेका छन् ।उनिहरुलाई आज बिहानै देखि भ्याई नभ्याई छ ।
राइड सेयरिङले पनि आज यात्रुको चाप थेग्न सकेको छैन ।सवारी अभावका कारण आज सर्वसाधारण जनताहरुले निकै सास्ति खेपिरहेका छन् ।
निजी सवारीसाधन नभएका यात्रुहरू पैदल यात्रा गर्न बाध्य छन्, विशेषतः महिला, बालबालिका, बिरामी र वृद्धवृद्धालाई अझै बढी कठिनाइ भएको छ।
यस्तो परिस्थितिमा केही राइड सेयरिङ सेवा प्रदायकहरूले यो मौका दुरुपयोग गर्दै यात्रुहरूसँग अत्यधिक भाडा असुल्न थालेका छन्। यात्रुहरूका अनुसार राइडरहरूले एपको प्रयोग नगरी ‘अफलाइन बार्गेनिङ’मार्फत मनपरी भाडा लिइरहेका छन्।
प्राप्त गुनासोहरूलाई गम्भीर रूपमा लिँदै प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरी राइडरहरूलाई अनुचित भाडा नलिन चेतावनी दिएको छ। साथै, यात्रुहरूले धेरै भाडा लिएको भेटिएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।