• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बन्दमा पनि सडकमा गुड्दैछन् साझाका बस, बन्दूकधारी प्रहरीले दिइरहेछन् सुरक्षा

व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात अवरुद्ध भएको अवस्थामा यात्रुहरूलाई राहत दिन साझा यातायातले काठमाडौं उपत्यकामा आफ्ना बस सञ्चालनमा ल्याएको छ। प्रहरीले सुरक्षा प्रदान गरेको अवस्थामा साझा यातायातले हाल ४० वटा बस विभिन्न रुटहरूमा चलाइरहेको छ।

साझाका यातायात व्यवस्थापन अधिकृत शंकर बस्यालका अनुसार, बिहान प्रहरीसँगको समन्वयमा सुरुमा १५ वटा बस सञ्चालन गरिएको थियो भने दिउँसो थप गरेर संख्या बढाइएको हो। हरेक बसमा दुई जना हतियारसहितका प्रहरी तैनाथ गरिएको छ।

बस्यालले साझासँग करिब १०० वटा बस रहेको जानकारी दिँदै ती सबैलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाए। हाल काठमाडौं र ललितपुर प्रहरीसँग समन्वय गरेर सेवा दिइरहेको साझा यातायातले लामो दूरीका बस सेवा भने केही समयका लागि स्थगित गरेको छ। पोखरा र कुश्मामा अज्ञात समूहद्वारा बसमा तोडफोड भएपछि सुरक्षा अवस्था हेरेर मात्र लामो दूरीको सेवा सञ्चालन गर्ने तयारी गरिएको हो।

उनका अनुसार, काठमाडौंमा साझा यातायातका १०० बस सञ्चालन भएमा दैनिक ६ हजारभन्दा बढी यात्रुले सुविधा पाउनेछन्।

हाल साझा यातायातले सार्वजनिक यातायात बन्द भएको अवस्थामासमेत यी पाँच वटा रुटमा सेवा दिइरहेको छ ।यी हुन् साझा यातायात चलिरहेका रुटहरु

लगनखेल–गोंगबु बसपार्क

लगनखेल–बूढानीलकण्ठ

गोदावरी–रत्नपार्क

थानकोट–एयरपोर्ट

थानकोट–बूढानीलकण्ठ

असुरक्षाका कारण हालका लागि लामाटार–रत्नपार्क, लेले–जमल र बुगमती–जमल रुट बन्द गरिएको छ। तर, यी रुटमा पनि प्रहरीसँग समन्वय गरी छिट्टै सेवा सुरु गर्ने योजना रहेको साझा यातायातले जनाएको छ।