• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बागमती नगरपालिका भ्रष्टाचार मुद्दा : साक्षी बयानका लागि अदालतको आदेश

काठमाडौं।सर्लाहीको बागमती नगरपालिका भ्रष्टाचार प्रकरणमा विशेष अदालतले साक्षीको बयान लिने प्रक्रिया सुरु गरेको छ।

सोमबार विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले साक्षी प्रवीण रेग्मीलाई बयानका लागि उपस्थित गराउन आदेश दिएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ चैत २८ गते नगर प्रमुख भरत थापा, उपप्रमुख देविका मोक्तानसहित चारजनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा, र २०७९ जेठ २९ गते भरत ताल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो।

यी दुई फरक मुद्दामा आयोगले कुल ३५ करोड ६२ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ। त्यसपछि उनीहरूविरुद्ध थप दुईवटा भ्रष्टाचारसम्बन्धी मुद्दा पनि दर्ता भएका छन्।

जिल्ला अदालत सर्लाहीमा ४९ करोड ४९ लाख रुपैयाँको वनसम्बन्धी भ्रष्टाचार मुद्दा तथा विशेष अदालतमा ५६ करोड ७१ लाख रुपैयाँको अर्को भ्रष्टाचार मुद्दा थपिएको छ। यससँगै मेयर थापा र उपमेयरसहित संलग्न व्यक्तिहरूमाथि अब चारवटा फरक मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको छ।