• २०८३ असार ५
  • 2026 June 19, Friday

“प्रचण्डसँग संवाद गर्न खोजेँ, तर सम्पर्कमै आउन चाहेनन्” – प्रधानमन्त्री ओली

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई बजेटमाथिको छलफलमा तर्क र तथ्यका आधारमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे विपक्षी दलहरूले उठाउने प्रश्न र आलोचनालाई तथ्यांकसहित खण्डन गर्न सांसदहरूलाई आह्वान गरे।

“हामीले नीति कार्यक्रम र बजेट उपयुक्त ल्याएका छौं,” ओलीले भने, “बजेटमाथि मंगलबारदेखि छलफल सुरु हुँदैछ। सांसदहरूले तर्कपूर्ण रूपमा यसको बचाउ गर्नुपर्छ। विरोधीहरूले धर्मर पार्ने शैलीमा कुर्तक गर्नेछन्, त्यसको जवाफ तथ्य र तथ्यांकसहित दिनुपर्छ।”

अध्यक्ष ओलीले सांसदहरूलाई तयारीसहित संसदमा उपस्थिति जनाई बुँदागत रूपमा बोल्न निर्देशन दिएका छन्। उनले संसदीय दलको बैठकमा पनि सांसदहरूको उपस्थिति कम देखिएकोप्रति असन्तोष व्यक्त गरे।

साथै, उनले संसद सञ्चालनमा देखिएको अवरोधको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद गर्ने प्रयास गरेको तर उनी सम्पर्कमा आउन नचाहेको बताए। “मैले प्रचण्डजीसँग कुरा गर्न खोजेँ, तर उहाँ सम्पर्कमा आउन चाहनुभएको छैन। थाहा नभएको होइन, धेरै प्रयास गर्दा पनि भेट हुन सकेको छैन,” ओलीको भनाइ थियो।

ओलीले विपक्षी दलहरूले संविधान र लोकतन्त्रविपरीतका गतिविधि नगर्न आग्रह गर्दै संसद चल्न नदिने रणनीति अपनाइएकोप्रति चिन्ता व्यक्त गरे। “संसद रोकेर विकास रोक्ने, जनप्रतिनिधिलाई निरर्थक बनाउने काम नगर्न आग्रह गर्छु,” उनले भने।

गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर भइरहेको संसद अवरोधप्रति टिप्पणी गर्दै ओलीले भने, “यस्ता कारणले संसद रोक्न मिल्दैन। संसद अगाडि बढ्नैपर्छ। अब ज्याजती धेरै भयो, अति भयो।”

उनले सडक आन्दोलनको नाममा माइतीघर मण्डलातर्फ भीड जम्मा गर्ने र सबै विपक्षी दलहरू त्यसैमा दौडिनु राजनीतिक गैरजिम्मेवारी भएको टिप्पणी गरे।