काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको दैनिक कार्यसूचीमा दोस्रो नम्बरमा उक्त विधेयक पेस गर्ने उल्लेख गरिएको छ। कार्यसूची अनुसार, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिबाट तयार पारिएको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नेछन्।
समितिले जेठ २ गते सर्वसम्मत रूपमा विधेयक पारित गरेको थियो। यसअघि जेठ १४ गतेको बैठकमा विधेयक पेस गर्ने तयारी गरिएको थियो। तर विपक्षी दलको अवरोधका कारण बैठक स्थगित भएपछि कार्यसूची परिवर्तन गरिएको थियो।
विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा सेटिङ’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्ने निर्णय गरेका छन्। उनीहरू उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेका छन्, जसका कारण आजको बैठक पनि प्रभावित हुन सक्ने देखिन्छ।